
विराटनगर । विराटनगरका व्यवसायी एवं उद्योगी भीमप्रसाद घिमिरेलाई उद्योग तथा व्यापार क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानका लागि ‘औद्योगिक तथा व्यावसायिक नेतृत्व उत्कृष्टता सम्मान’ (Industrial & Business Leadership Excellence Award) प्रदान गरिएको छ ।
कोशी प्रदेशमा रहेर उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै घिमिरेलाई उक्त अवार्ड प्रदान गरिएको हो । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा काठमाडौंस्थित होटेल हिमालयमा आयोजना गरेको विशेष कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले घिमिरेलाई ट्रफीसहित सम्मान प्रदान गरेका हुन् ।
सम्मानपत्रमा सामान्य तथा विपन्न पारिवारिक परिवेशबाट जीवनयात्रा सुरु गरेका घिमिरेले दृढ संकल्प, अथक परिश्रम, इमानदारी, दूरदृष्टि र सकारात्मक सोचका माध्यमबाट व्यावसायिक सफलता हासिल गरेको उल्लेख गरिएको छ । संघर्षपूर्ण अवस्थाबाट सुरु भएको उनको उद्यमशील यात्रा अहिले उद्योग–व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत उदाहरणीय बनेको सम्मानपत्रमा जनाइएको छ ।
व्यवसायलाई नाफा आर्जन गर्ने माध्यमका रूपमा मात्र नभई समाज र राष्ट्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने मान्यतालाई घिमिरेले आफ्नो व्यवहार र कार्यशैलीमार्फत स्थापित गरेको पनि सम्मानपत्रमा उल्लेख छ । विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका घिमिरेले युवा पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्न र स्वदेशमै अवसर सिर्जना गर्न निरन्तर प्रेरित गर्दै आएका छन् ।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएका उनी शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण तथा समुदाय विकासका क्षेत्रमा समेत सक्रिय छन् । घिमिरे नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका संस्थापक अध्यक्ष तथा हाल केन्द्रीय उपाध्यक्ष हुन् । उनी उद्योग संगठन मोरङका पूर्वअध्यक्ष, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ए–१ का पूर्वगभर्नर तथा टंकीसिनवारी जेसीजका संस्थापक अध्यक्षसमेत हुन् ।
सन् २००४ मा अमेरिकाको विविधता प्रवेश कार्यक्रमअन्तर्गत स्थायी बसोबासको अवसर पाएपछि सपरिवार ग्रीनकार्ड प्राप्त गरेका घिमिरे विदेशमै बस्ने अवसर त्यागेर नेपाल फर्किएका थिए । नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएर उद्यममा लागेका उनको निर्णयलाई नेपालमै सम्भावना खोज्ने युवाका लागि प्रेरणादायी उदाहरणका रूपमा लिइन्छ ।
घिमिरेले आफ्ना परिवारका सदस्यलाई समेत उद्यमशीलतामा जोड्दै आएका छन् । उनले श्रीमती अजिता, छोराहरू अभिज्ञ र अन्वित तथा दुवै बुहारीलाई समेत व्यवसाय र उद्यममा सक्रिय बनाएका छन् ।
उद्यमशीलता कसरी विकास गर्न सकिन्छ र विदेश जाने सपनालाई कसरी स्वदेशमै अवसर सिर्जना गर्ने सोचमा बदल्न सकिन्छ भन्ने विषयमा विभिन्न विश्वविद्यालय तथा कलेजले उनलाई मुख्य वक्ता तथा प्रेरणात्मक कक्षा लिन आमन्त्रण गर्दै आएका छन् । उनी उद्यमशीलता विकासका क्षेत्रमा प्रशिक्षकका रूपमा समेत सक्रिय छन् ।
पेट्रोलियम पदार्थमा हुने मिसावट र कालोबजारीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले घिमिरेले विक्रम संवत २०६४ मा पेट्रोल पम्प सञ्चालन सुरु गरेका थिए । पेट्रोलियम पदार्थमा कसरी मिसावट हुन्छ भन्ने विषयलाई सार्वजनिक रूपमा देखाउँदै उनले पत्रकार सम्मेलनमार्फत जनचेतना फैलाउने साहसिक कदमसमेत चालेका थिए ।
उनको अभियानपछि यस विषयमा संसदीय समिति गठन भएको र मट्टितेल तथा पेट्रोलको मूल्य बराबर गर्न सरकार बाध्य भएको स्मरण गरिन्छ । यस पहलको श्रेयसमेत घिमिरेलाई दिने गरिएको छ ।
कोभिड–१९ महामारीका बेला पवन शारडाको नेतृत्वमा गठित नागरिक केयर सेन्टरमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका घिमिरेले स्वास्थ्य पूर्वाधार निर्माणको अभियानमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । अत्यन्त जोखिमपूर्ण अवस्थामा उनको टोलीले ३९ दिनमै २०० शय्याको अस्पताल निर्माण गर्नुका साथै सघन उपचार कक्ष र अक्सिजन उत्पादन केन्द्रसमेत सञ्चालनमा ल्याएको थियो । उक्त अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएपछि पछि कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।
महामारीका बेला जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै छोटो समयमै ठूलो स्वास्थ्य पूर्वाधार निर्माण गर्ने अभियानमा घिमिरेको भूमिका महत्त्वपूर्ण रहेको बताइन्छ । सम्मान ग्रहणपछि घिमिरेले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताए । उनले व्यावसायिक सफलतासँगै शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण तथा समुदाय विकासका क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्याउन सम्मानले थप प्रेरणा मिलेको बताए ।
आगामी दिनमा उद्योग–व्यवसायको विकाससँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै युवा पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । सिजन मिडिया नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार नेपाल तथा विभिन्न एसियाली मुलुकमा व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सफल व्यवसायी, पेसाकर्मी तथा व्यक्तित्वलाई कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।

























