
काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ । बाढीबाट विशेष गरी धान, तरकारी तथा पशुपंक्षी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरणअनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। जसमा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ ।
त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रुपमा हेर्दा नुवाकोटको बिदुर, लिखु तथा बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह प्रभावित भएका छन् । नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।
धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ। तरकारीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।
बाढीबाट पशुपंक्षी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार कुल दुई लाख ५२ हजार ४४५ पशुपंक्षी प्रभावित भएका छन्। पशुपंक्षीको क्षतिको अनुमानित मूल्य १११ करोड ३९ लाख रहेको छ। सबैभन्दा धेरै संख्या कुखुराको रहेको छ। बाढीबाट करिब दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्। संख्याको हिसाबले यो कुल पशुपंक्षीको ८५.१ प्रतिशत हो तर कुखुराको मूल्य हिस्सा भने कुल क्षतिको ४.८ प्रतिशत मात्रै छ।
बाढीका कारण चार हजार ५७२ भैंसी प्रभावित हुँदा ४५ करोड ७२ लाख रुपैंयाँको क्षति पुगेको अनुमान छ। यो कुल पशुधन क्षतिको ४१ प्रतिशत हो। त्यस्तै, बाख्रा-च्याङ्ग्रामा ३९ करोड १३ लाख रुपैंयाँ अर्थात् कुल क्षतिको ३५.१ प्रतिशत र गाईगोरुमा १७ करोड ९२ लाख रुपैंयाँ अर्थात् १६.१ प्रतिशत क्षति भएको छ।
अन्य पशुमा एक करोड ४ लाख रुपैंयाँ, बङ्गुर-बँदेलमा एक करोड ९६ लाख रुपैंयाँ, भेंडामा २५ लाख रुपैंयाँ, कुखुरामा पाँच करोड ३७ लाख रुपैंयाँ र अन्य चरामा करिब एक लाख रुपैंयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। कुल पशुधन क्षतिमध्ये भैंसी, बाख्रा-च्याङ्ग्रा र गाईगोरु मात्रैबाट ९२.३ प्रतिशत क्षति भएको देखिन्छ। यसले बाढीबाट कृषकको आम्दानी र ग्रामीण अर्थतन्त्रमा पशुपालनतर्फको प्रभाव पनि गम्भीर रहेको देखाउँछ।

























