
विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ । सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्यसहित मन्त्रालयले कोशी प्रदेशको इटहरीबाट मेला सुरु गर्ने निर्णय गरेको हो ।
मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने विषयमा सोमबार बृहत् छलफल भएको छ । मन्त्रालयको टोलीले इटहरी पुगेर स्थानीय उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालासँग मेलाको तयारी र प्रभावकारिताबारे छलफल गरेको हो ।
सरकारले अघि सारेको ‘रोजगार प्रवर्द्धन दशक २०८३/८४–२०९२/९३’ लाई प्रभावकारी बनाउन इटहरीबाट सुरु हुने मेला क्रमशः देशका सातै प्रदेशमा विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मेला केवल औपचारिक कार्यक्रमका रूपमा सीमित गरिने छैन । रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको माग पहिचान गरी त्यसअनुसार सीप तथा तालिम प्रदान गर्ने र तालिमपछि सोझै रोजगारीमा जोड्ने व्यवस्था मिलाइनेछ ।
मेलामार्फत कृषि, अटोमोबाइल, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधिलगायतका क्षेत्रमा आवश्यक सीपमूलक तालिम उपलब्ध गराउने लक्ष्य राखिएको छ । विशेषगरी निजी क्षेत्रका उद्योग तथा व्यवसायले खोजेको जनशक्ति र युवाको सीपबीचको दूरी कम गर्ने गरी कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले ‘सीप तथा रोजगार मेला’ सफल बनाउन आवश्यक सहकार्य गर्न आफूहरू सकारात्मक रहेको बताएका थिए । उनीहरूले उद्योग तथा व्यवसायको वास्तविक आवश्यकताअनुसार तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
मन्त्रालयले उद्योग तथा व्यवसायीलाई आगामी पाँचदेखि छ महिनामा आवश्यक पर्ने जनशक्तिको संख्या र आवश्यक सीपको स्तरबारे स्पष्ट माग प्रस्तुत गर्न आग्रह गरेको छ । सोही मागका आधारमा आवश्यक तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्न मन्त्रालय तयार रहेको बताइएको छ ।
छलफलमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको मुख्य उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै सकेसम्म धेरै युवा जनशक्तिलाई स्वदेशमै रोजगारीसँग जोड्नु रहेको बताए ।
उनले निजी क्षेत्रको आवश्यकता र युवाको सीपलाई एकै ठाउँमा जोड्न सके स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न सकिने धारणा व्यक्त गरे ।



















