फाइल फोटो ।झापा । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको ३१ राउन्ड गोली एक वर्षपछि झाडीमा फेला परेका छन् । दमक नगरपालिका–५ स्थित खरखरे खोलानजिक पैनीको डिलमा रहेको झाडीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली भेटिएको प्रहरीले जनाएको छ ।
लागुऔषध सेवनकर्ताहरूको गोप्य अखडा खोज्ने क्रममा ‘स्वीप अपरेसन’मा खटिएको प्रहरी टोलीले गोली फेला पारेको हो । उक्त गोली इन्सास राइफलमा प्रयोग हुने प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनकै क्रममा दमकस्थित प्रहरी कार्यालयबाट लुटिएको एक थान सर्ट गन यसअघि भदौ ६ गते बरामद भएको थियो । मोरङको उर्लाबारी नगरपालिका–६ घर भई दमक–१ मा मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्णलाई पक्राउ गरी अनुसन्धान गर्दा दमक–४ त्रिवेणी चोकस्थित खयरबारीमा लुकाइएको अवस्थामा सर्ट गन भेटिएको थियो । सर्ट गन दुई टुक्रा भएको अवस्थामा थियो ।
तर, प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोलीको ठूलो हिस्सा अझै फेला परेको छैन । आन्दोलनका क्रममा दमकस्थित प्रहरी कार्यालयबाट ५५ थान हतियार, ८७ थान म्याग्जिन र पाँच हजार ९८२ राउन्ड गोलीसहित अन्य सुरक्षासामग्री लुटिएका थिए ।
प्रहरीका अनुसार हालसम्म ४३ थान हतियार, ४० थान म्याग्जिन र एक हजार ७७८ राउन्ड गोली बरामद भएका छन् । अझै १२ थान हतियार, ४७ थान म्याग्जिन र चार हजार २१० राउन्ड गोलीसहित ठूलो परिमाणको सुरक्षासामग्री फेला पर्न बाँकी छ ।
गायब सामग्रीमा दुई थान इन्सास, एक थान एसएलआर, दुई थान एसएमजी, सर्ट गन, ग्यास गन, ३०३ राइफल, टी–५४ र टी–७७ लगायतका हतियार तथा तिनमा प्रयोग हुने गोली र म्याग्जिन छन् । लुटिएका हतियार आपराधिक समूह वा अन्य व्यक्तिको हातमा पुग्न सक्ने जोखिम रहेकाले बाँकी हतियार तथा गोलीको खोजीलाई प्राथमिकतामा राखिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेत ले बताए ।



















