सप्तऋषिको आराधना गरेर ऋषिपञ्चमी पर्व मनाइँदै

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार ०७:५०

काठमाडौं । भाद्रपद शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज (मंगलबार) देशभर धार्मिक विधिपूर्वक मनाइँदैछ । विशेषगरी महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना, स्नान तथा व्रत गरी यो पर्व मनाउने गर्छन् ।

धर्मशास्त्रअनुसार बिहान नित्यकर्म सकेपछि तीज व्रतको पारायण गरी नदी, खोला, ताल, तलैया वा पोखरीमा पुगेर ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने परम्परा छ । यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषिपञ्चमी परेको हो । त्यसैले तीजको व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायतका कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ ।

Advertisement

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषिपञ्चमी भने महिलाले मात्र मनाउनुपर्ने उल्लेख छ । रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए षिपञ्चमीमा सप्तऋषिको पूजा गरे त्यसबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित अरुन्धतीको पूजा गरिन्छ । सप्तऋषिको पूजा गरिने भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो ।

ऋषिपञ्चमीसँग जोडिएको धार्मिक किम्बदन्तीमा इन्द्रले विश्वरूपको हत्या गरेपछि लागेको ब्रह्महत्याको दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाइएको उल्लेख छ । त्यसैबाट उषरभूमि, वृक्षको खोटो, पानीको फिँज र महिलामा रजस्वला हुने धार्मिक विश्वास विकास भएको बताइन्छ ।

पण्डित मधुसुदन सुवेदीले रजस्वलासम्बन्धी धार्मिक मान्यतालाई आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिले समेत अध्ययन गरी सार्वजनिक गर्नुपर्ने बताए । व्रतपछि नरोपी उम्रेका सामा, कागुनो, कन्दमूल र कर्कलालगायतका परिकार खाएर एक छाक हविष्य बस्ने परम्परा छ ।

काठमाडौंको टेकु, मूलपानीसहित देशभरका ऋषेश्वर मन्दिरमा श्रद्धालु महिलाको भिड लागेको छ । मन्दिर पुग्न नसक्नेले नदी किनार वा घरमै सप्तऋषिको पूजाआराधना गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×