
जनकपुरधाम । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका महोत्तरीका एक अभियुक्त सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यक्रममा सहभागी भएको अवस्थामा पनि पक्राउ पर्न सकेनन् । प्रहरी उनलाई नियन्त्रणमा लिन पुगे पनि कार्यक्रमस्थलमा भएको अवरोधका कारण अभियुक्त उम्किन सफल भएका हुन् ।
महोत्तरी जिल्ला समन्वय समितिको सभाहलमा आइतबार रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरि ढकालको नेतृत्वमा कार्यक्रम भइरहेको थियो । सोही कार्यक्रममा मनराशिसवा नगरपालिका–२ का रोमन प्रताप सिंह ‘रोमन’ पनि सहभागी थिए । सिंहविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा महोत्तरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको थियो ।
विशेष सूचनाका आधारमा प्रहरीले सिंह कार्यक्रमस्थलमै रहेको जानकारी पाएपछि उनलाई पक्राउ गर्न टोली पठाएको थियो । प्रहरीले सभाहल पुगेर उनलाई नियन्त्रणमा लिने प्रयास गर्यो । तर, त्यसक्रममा रास्वपाका कार्यकर्ताले प्रहरीलाई रोक्ने तथा प्रहरीविरुद्ध नाराबाजी गर्ने काम गरे ।
घटनासम्बन्धी सार्वजनिक भएको भिडियोमा प्रहरीविरुद्ध नाराबाजी भएको र सिंहलाई पक्राउ नगर्न दबाब दिइएको देखिन्छ । प्रहरी सिंहलाई लिएर जाने अडानमा रहेपछि कार्यक्रमस्थलमा थप तनावको अवस्था बनेको थियो । त्यसपछि रास्वपा सांसद ढकालको नेतृत्वमा कार्यकर्ताहरू बाहिर निस्किएको र प्रहरीसँग हुलहुज्जत तथा नाराबाजी गरेको बताइएको छ ।
महोत्तरीका प्रहरी प्रमुख एसपी श्याम सारु मगरले कार्यक्रमस्थलमा भएको अवरोधका कारण अभियुक्तलाई नियन्त्रणमा लिन नसकिएको पुष्टि गरेका छन् । उनका अनुसार प्रहरीको खोजीमा रहेका अभियुक्त रोमन प्रताप सिंह त्यहाँबाट फरार भएका छन् र प्रहरीले उनको खोजी जारी राखेको छ ।
इन्स्पेक्टर विश्वभरनाथ साहका अनुसार अदालतको आदेशपछि सिंहलाई पक्राउ गर्न प्रहरी सक्रिय थियो । विशेष सूचनाका आधारमा कार्यक्रमस्थलमा पुगे पनि प्रहरीलाई अवरोध भएपछि उनलाई नियन्त्रणमा लिन नसकिएको उनले बताए ।
स्रोतका अनुसार प्रहरी टोली अभियुक्तलाई पक्राउ गर्न पुगेको सूचना पाएपछि सिंह समर्थकहरूले कार्यक्रमस्थलमा होहल्ला सुरु गरेका थिए । प्रहरीले उनलाई जसरी पनि नियन्त्रणमा लिने अडान लिएपछि सांसद ढकालले रोमनलाई आफूसँगै हिँड्न भनेको र कार्यकर्ताले प्रहरीलाई गेटमै रोकिरहेका बेला उनी कार्यक्रमस्थलबाट बाहिरिएको स्रोतको दाबी छ । त्यसै क्रममा प्रहरी केही समय अलमलमा परेको मौका पारेर रोमन त्यहाँबाट निस्किएको बताइएको छ ।
रोमनविरुद्ध गत जेठमा मनराशिसवा नगरपालिकामा रास्वपाको नगर अधिवेशनका क्रममा भएको झडपलाई लिएर मुद्दा परेको हो । नेतृत्व चयनको विषयमा विवाद हुँदा रास्वपाकै दुई पक्षबीच झडप भएको थियो । घटनामा सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए । सतीश कापर र गोविन्द कापर गम्भीर घाइते भएपछि घटनालाई लिएर प्रहरीमा उजुरी परेको थियो ।
असन्तुष्ट पक्षका कार्यकर्तामाथि कुटपिट गराएको आरोप लगाउँदै सतीश कापरले रोमनविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिएका थिए । सोही मुद्दामा महोत्तरी जिल्ला अदालतले गत साउन ४ गते रोमनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।
अदालतको आदेशपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । तर, पक्राउ पुर्जी जारी भइसकेका व्यक्ति रास्वपाको औपचारिक कार्यक्रममा सहभागी हुँदासमेत प्रहरीको प्रयास असफल भएपछि घटनाले राजनीतिक वृत्तमा समेत प्रश्न उठाएको छ । प्रहरीले भने फरार अभियुक्तलाई जसरी पनि पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइने जनाएको छ ।



















