
काठमाडौं । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोलाई प्रहरीले सोमबार राति बिदेह नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट उद्धार गरेको जनाएको छ ।
प्रहरीका अनुसार बालकलाई छाडेर भाग्न खोजेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको छ।
अपहरणको सूचना पाएपछि तालिमप्राप्त कुकुरसहित परिचालन भएको प्रहरी टोलीले निरन्तर खोजतलास तथा अनुसन्धान गर्दै बालक राखिएको स्थान पत्ता लगाएको थियो । प्रहरी पुगेपछि बालकलाई छाडेर भाग्न खोज्दा पासवान पक्राउ परेकी हुन् ।
उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























