
विराटनगर । उद्योग संगठन मोरङले मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ । नवनिर्वाचित संघका अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारी तथा कार्य समिति सदस्यहरूलाई संगठनको कार्य समितिले स्वागत, सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।
उद्योग संगठन मोरङले आयोजना गरेको स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई ऐतिहासिक संस्थाबीच लामो समयदेखि प्रगाढ आत्मीय सम्बन्ध र निरन्तर सहकार्य रहँदै आएको स्मरण गरे । उनले आगामी दिनमा यो सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र नतिजामुखी बनाउँदै लैजाने स्पष्ट पारे ।
अध्यक्ष राठीले मुलुकको समग्र निजी क्षेत्रले अहिले नीतिगत स्थायित्वको अभाव, औद्योगिक पूर्वाधारको कमी, उच्च उत्पादन लागत र बजार विस्तारलगायतका गम्भीर चुनौतीहरू सामना गरिरहेको बताए । वर्तमान आयातमुखी अर्थतन्त्रलाई उत्पादनशील र निर्यातमुखी बनाउन निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूबीचको पारस्परिक सहकार्य अपरिहार्य रहेको धारणा उनले व्यक्त गरे ।
यसैगरी, मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष साहले उद्योग, व्यापार तथा समग्र निजी क्षेत्रको हकहितका साझा मुद्दाहरूमा संस्थागत सहकार्यलाई अझ मजबुत र परिणाममुखी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे । उनले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा लगानीमैत्री वातावरण सिर्जना गर्न निजी क्षेत्रका संस्थाहरूबीच बलियो ऐक्यबद्धता आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष अनुपम राठी तथा संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले मन्तव्य व्यक्त गर्दै निजी क्षेत्रका साझा एजेन्डा, औद्योगिक विकास र व्यावसायिक सुरक्षाका लागि आपसी एकता र संयुक्त सहकार्यलाई थप घनीभूत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा दुवै संस्थाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।



















