
झापा । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले दुई महिनामा चार करोड ६६ लाख ४९ हजार ५४० रुपैयाँ राजस्व सङ्कलन गरेको हो। यो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो।
कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी तथा पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रूपमा भन्सार नाकाबाट हुने आयात बढेकाले राजस्व सङ्कलनमा सुधार आएको हो। विशेषगरी साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको उनले बताए।
भदौमा मात्रै दुई करोड १० लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कार्यालयले तीन करोड १६ लाख १५ हजार ४२२ रुपैयाँ सङ्कलन गरेको छ। यो लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो। साउनमा भने एक करोड ५० लाख ३४ हजार ११८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
चालु आर्थिक वर्षमा भद्रपुर भन्सार कार्यालयले २६ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। दुई महिनामा भएको सङ्कलन वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो। यस अवधिमा सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) को छ। भ्याटबाट दुई करोड २० लाख एक हजार १५६ रुपैयाँ सङ्कलन भएको छ।
यस्तै, भन्सार महसुलबाट एक करोड ८४ लाख १२ हजार ३२३ रुपैयाँ, अन्तःशुल्कबाट ६२ लाख ७७ हजार २९६ रुपैयाँ र कृषि सुधार शुल्कबाट १३ लाख २२ हजार ३८९ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा भने कार्यालयले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन। सो वर्ष २५ करोड तीन लाख २५ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ७४ दशमलव ३४ प्रतिशत अर्थात् १८ करोड ६० लाख ९५ हजार ८४४ रुपैयाँ मात्रै सङ्कलन भएको थियो।



















