
काठमाडौं । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने विषयमा सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् ।
काठमाडौंको डिल्लीबजारस्थित नापी कार्यालयअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख वलीले सम्बन्धित काममा अनावश्यक दुःख–हैरानी दिई घुस रिसवत मागिरहेको भन्ने सूचना तथा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।
उक्त उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले वलीलाई ९ लाख रुपैयाँ घुस रिसवत लिइसकेको अवस्थामा काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
नियन्त्रणमा लिने क्रममा वलीले घुसबापत लिएको भनिएको ९ लाख रुपैयाँसमेत बरामद गरिएको आयोगको भनाइ छ । आयोगका अनुसार वलीविरुद्ध घुस रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । बिहीबार विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

























