
विराटनगर । एक्स्ट्रिम इनर्जी ड्रिंक्स विराटनगरमा आयोजना हुने ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रयोजक रहने भएको छ । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बीच मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच सम्झौता भएको हो ।
सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक्स ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक्स ‘हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोको यो नवौँ संस्करण हो । करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फरक बनाउँदै इम्प्याक्ट वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा मनोरञ्जन लगायतका विभिन्न अवसरसँग जोडिने आयोजकले जनाएको छ । एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहने छ । आयोजकले एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ ।
सम्झौतापछि बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच थप विस्तार हुने बताए । उनले एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनीमा मात्र सीमित नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसर जोड्ने साझा मञ्चका रूपमा विकास हुँदै गएको बताए ।
विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण बढ्ने बताए । उनका अनुसार सहकार्यलाई ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधि र अवसरसँग जोडिने छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सकी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताइन् । उनले एक्स्पोका विभिन्न गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उद्योग संगठन मोरङका अनुसार विराट एक्स्पोले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ ।



















