
जनकपुरधाम। जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि कार्यस्थलमै बिरामीका आफन्तले कुटपिट गरेको घटनामा संलग्न दोषीलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।
संघका अध्यक्ष डा. रामज्ञान यादव र महासचिव डा. विजयकुमार साहद्वारा जारी विज्ञप्तिमा समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो घटनामा संलग्न दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कारबाही गर्न माग गरिएको छ।
शल्यक्रिया गर्नुअघि चिकित्सकले बिरामीका आफन्तलाई परामर्श दिई सम्भावित जोखिमका लागि सहमति पत्रमा हस्ताक्षर गर्न आग्रह गरेपछि डा. साहमाथि कुटपिट भएको अस्पताल प्रशासनले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् भने कुटपिटबाट चिकित्सकको शरीरका विभिन्न भागमा चोट लागेको छ।



















