झापाको अर्जुनधारा नगरपालिकाले बनायो ६२ वटा कानुन

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १४:१२

झापा । अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित बनाउन पहिलो स्थानीय तह निर्वाचनपछि नौ वर्षको अवधिमा ६२ वटा स्थानीय कानुन निर्माण गरी लागू गरेको छ ।

नगरपालिकाका अनुसार हालसम्म २१ ऐन, सात नियमावली, ३२ कार्यविधि र दुई निर्देशिका निर्माण भएका छन् । स्थानीय तहको अधिकार क्षेत्रभित्रका विभिन्न विषयलाई व्यवस्थित गर्न आवश्यक कानुनी आधार तयार गर्ने उद्देश्यले ती कानुन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले स्थानीय आवश्यकता र नगरवासीको अपेक्षालाई सम्बोधन गर्ने गरी आवश्यक कानुन निर्माण गरी कार्यान्वयनमा जोड दिइएको बताए ।

“स्थानीय आवश्यकता र नगरवासीको अपेक्षालाई सम्बोधन गर्ने गरी आवश्यक कानुन निर्माण गरेका छौँ,” उनले भने, “कानुनलाई व्यवहारमा कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रयास हो ।”

संविधानले सङ्घ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्रभित्र कानुन तर्जुमा र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नगरपालिकाले स्थानीय आवश्यकता र अधिकार क्षेत्रका विषयमा कानुन निर्माण गरेको जनाएको छ ।

स्थानीय कानुन निर्माणसँगै नगरपालिकाले विवाद समाधानका लागि न्यायिक समितिलाई पनि सक्रिय बनाएको छ । आर्थिक वर्ष २०७९/८० देखि हालसम्म न्यायिक समितिमा ५९० वटा मुद्दा दर्ता भएकामा ४२२ वटा फछ्र्योट भएका छन् ।

स्थानीयस्तरमै विवाद समाधान गर्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । ती केन्द्रमा ८४ जना मेलमिलापकर्ता सूचीकृत रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार मेलमिलाप तथा न्यायिक सेवासम्बन्धी विषयमा बस्तीस्तरमा अभिमुखीकरण, कानुनी सचेतना कार्यक्रम तथा जिल्ला अदालतका न्यायाधीश र कर्मचारीसँग अन्तरक्रियासमेत गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×