
विराटनगर–१० तीनटोलियामा रहेको आयो नेचुरलले प्राकृतिक तथा हर्बल सामग्री उत्पादन गरी बजारमा ल्याएको छ । लामो समयको प्रयासपछि उत्पादन सुरु गरेको कम्पनीले बिक्री कक्षमार्फत आफ्ना उत्पादन उपभोक्तामाझ पुर्याउन थालेको हो।
विराटनगरको तीनटोलियामा एक कार्यक्रमकाबीच ‘आयो नेचुरल’ ले आफ्नो उत्पादनको आधिकारिक बिक्री कक्ष शुभारम्भ गरेको छ । आयो नेचुरलकी प्रबन्धक ज्ञानुकुमारी राउत थापाका अनुसार उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर हर्बल साबुन, फेस मास्क, फेस सिरम, हेयर वेल, पोषणयुक्त आहार, विभिन्न प्रकारका तेल, धूपलगायत दुई दर्जनभन्दा बढी सामग्री उत्पादन गरी बजारमा ल्याइएको छ । बिक्री कक्षमार्फत उपभोक्ताले आयो नेचुरलका विभिन्न उत्पादन सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रबन्धक थापाले आयो नेचुरलबाट उत्पादित सामग्री प्राकृतिक कच्चा पदार्थमा आधारित रहेको दाबी गरिन् । उनका अनुसार कम्पनीले उपभोक्ताको स्वास्थ्य र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका हर्बल तथा प्राकृतिक सामग्री उत्पादन गरिरहेको छ ।
उनले आयो नेचुरलका सामग्री खरिद गर्दा कम्पनीको आधिकारिक लोगो हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेकी छन् । बजारमा आफ्नो ब्रान्डका नाममा अन्य सामग्री आउन सक्ने भएकाले लोगो पहिचान गरेर उत्पादन खरिद गर्न उनले सुझाव दिएकी हुन् ।
कम्पनी सञ्चालनका लागि १० लाख रुपैयाँभन्दा बढी लगानी गरिएको थापाले जानकारी दिइन् । कम्पनीले आगामी दिनमा उपभोक्ताको मागअनुसार थप प्राकृतिक तथा हर्बल सामग्री उत्पादन गर्दै बजार विस्तार गर्ने जनाएको छ ।



















