
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा हँसिया प्रहार गरेर पतिले आफ्नै पत्नीको हत्या गरेका छन् । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छ ।
उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईं अनुसार शनिबार राति करिब १२ः३० बजेतिर ५८ वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन (मापसे) गरी पत्नी ४५ वर्षीया विमला राईमाथि हँसिया प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हँसिया प्रहारबाट विमलाको घाँटीमा गम्भीर चोट लागेको थियो ।
घटनापछि गन्दुराम आफैँ अस्थायी प्रहरी चौकी माडिबास पुगेका थिए । उनी आफैंले घटनाको जानकारी गराएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा लगेको छ ।
घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी चौकी माडिबासबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते अवस्थामा विमलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो । तर, अस्पताल पुर्याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरिदिएको एसपी चापागाईंले बताए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका गन्दुरामविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

























