
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शनिबार साँझ बीपी चोकस्थित लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहार हुँदा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए ।
गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको आइतबार बिहान शल्यक्रिया गरेर शरीरमा लागेको गोली निकालिएको छ । नोबेल शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रञ्जिव झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो । चिकित्सकका अनुसार यादवको अवस्था मध्यम छ ।
प्रहरीले यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको जनाएको छ । घटनापछि उनलाई उपचारका लागि विराटनगर ल्याइएको थियो । गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादव छन् ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा ५ देखि ६ जनासम्मको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारिएको जानकारी उनले दिए ।
‘प्रारम्भिक अनुसन्धानबाट घटनामा ५–६ जनाको संलग्नता पुष्टि भएको छ । तीमध्ये दुई जनालाई पक्राउ गरिएको छ । फरार रहेका अन्यको खोजी भइरहेको छ,’ डीएसपी खड्काले भने । प्रहरीका अनुसार निरज आफ्ना छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका थिए ।
लक्ष्मीनारायण मन्दिरनजिक पुगेपछि उनीहरूमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटनाको कारण भने युवतीको विषयमा केही दिनअघि भएको विवाद रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । युवतीको विषयलाई लिएर युवाहरूबीच विवाद भएपछि त्यसैको रिसइबीका कारण गोली प्रहार भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
‘केटीको विषयलाई लिएर केही दिनअघि विवाद भएको रहेछ । त्यही विवादको रिसइबी गोली प्रहारसम्मको घटनामा परिणत भएको पाइयो,’ प्रहरी स्रोतले भन्यो । तर, गोली प्रहार गाँजा तस्करीको विवादका कारण भएको हल्ला चलेको थियो । प्रहरीले अनुसन्धानका क्रममा अहिलेसम्म गाँजा वा अन्य कुनै वस्तुको तस्करीसँग घटनाको सम्बन्ध पुष्टि नभएको जनाएको छ ।
डीएसपी खड्काले घटना पुरानो रिसइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘घटना पुरानो रिसइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवतीको विषयलाई लिएर केही समयअघि युवाहरूबीच विवाद भएको भन्ने जानकारी आएको छ । थप कुरा पत्ता लगाउन अनुसन्धान भइरहेको छ,’ उनले भने ।
गोली साना हतियारमा प्रयोग हुने प्रकृतिको देखिए पनि प्रयोग भएको हतियार र गोलीको प्रकृतिका बारेमा प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्दै घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।



















