अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय, फ्लाई दुबईले थाल्दैछ नियमित सेवा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ०७:५२

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयपछि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आउँदैछ । फ्लाई दुबईले आज (बुधबार)देखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्न लागेको हो ।

नियमित उडान सुरु हुँदा अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय थपिने छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित विदेशी उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको सेवाले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्रमा नयाँ आशा जगाएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित बनाउन आवश्यक पूर्वाधार तथा सेवा व्यवस्थापनको काम पूरा भइसकेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

Advertisement

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ । पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उडान भर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ ।

विमानस्थलमा अध्यागमन, भन्सार, कार्गो तथा यात्रु सेवासहित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै संयन्त्र तयारी अवस्थामा रहेको निरौलाले बताए । ‘विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,’ उनले भने ।

फ्लाई दुबईबाट पोखरा आउने यात्रु तथा पोखराबाट दुबई जाने यात्रुलाई पर्यटन व्यवसायीले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् । यात्रुलाई खादा र मालासहित स्वागत गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

पोखरा विमानस्थल भन्सार कार्यालयले पनि अन्तर्राष्ट्रिय उडानसँग सम्बन्धित आवश्यक काम पूरा गरेको जनाएको छ । कार्यालय प्रमुख हरि भण्डारीका अनुसार राजस्व संकलन, यात्रुको जाँचपास तथा निकासी–पैठारीसँग सम्बन्धित कामका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ ।

‘राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौं । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,’ उनले भने ।

फ्लाई दुबईको सेवा पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि महत्वपूर्ण हुने पर्यटन क्षेत्रको अपेक्षा छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई उडानले अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग पनि पोखरालाई जोड्न सक्ने बताए ।

फ्लाई दुबईले दुबईबाट १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखराको अन्तर्राष्ट्रिय हवाई सेवाले दीर्घकालीन निरन्तरता पाउने आधार बन्न सक्ने श्रेष्ठको भनाइ छ । ‘फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,’ उनले भने ।

रोजगारी तथा अध्ययनका लागि ठूलो संख्यामा नेपाली दुबई जाने भएकाले पोखराबाट सिधा उडान सुरु हुँदा यात्रुलाई समेत सहज हुने श्रेष्ठले बताए ।

उडान सञ्चालनका क्रममा सुरक्षा व्यवस्थालाई पनि प्राथमिकतामा राखिएको छ । जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण गरी आवश्यक सुरक्षा प्रबन्धका बारेमा जानकारी लिएको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षको अवसर पारेर २०७९ पुस १७ गते सञ्चालनमा आएको थियो । सञ्चालनपछि केही अन्तर्राष्ट्रिय उडान भए पनि नियमितता पाउन नसकेको विमानस्थलमा फ्लाई दुबईको दैनिक सेवाले अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई निरन्तरता दिनेछ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय, फ्लाई दुबईले थाल्दैछ नियमित सेवा
यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची
अमेरिकाको थप ३१ मिलियन सहयोग
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×