इलाममा ट्रकको ‘फल्स बटम’ भित्र लुकाइएको १५ सय किलो गाँजा बरामद

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १४:०५

इलाम । ट्रकको डालीमा ‘फल्स बटम’ बनाएर लुकाइएको १ हजार ५ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको छ । इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङबाट ना.४ ख ८०९६ नम्बरको ट्रकमा ४१ वटा बोरामा प्याक गरेर राखिएको गाँजा मंगलबार साँझ बरामद गरिएको हो ।

पाँचथरबाट इलाम हुँदै फिक्कलतर्फ जाँदै गरेको ट्रकलाई प्रहरीले साँझ ६ः३५ बजे शंका लागेर जाँच गर्न खोजेको थियो । तर चालकले ट्रक रोक्नुको सट्टा अघि बढाउन खोजेपछि प्रहरीले इलाम–झापा फास्ट ट्र्याकतर्फ पठाउने प्रयास गरेको थियो । त्यसपछि ट्रक रोकिएको प्रहरीले जनाएको छ ।

Advertisement

ट्रक स्टार्टमै छाडेर चालकले ‘गाडीमा समस्या आयो’ भन्दै बाहिरिएपछि प्रहरीलाई थप शंका लागेको थियो । प्रहरी टोली पुग्दा भने चालक त्यहाँ थिएनन् ।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी कुलदीप चन्दका अनुसार चालक बस्ने स्थानको ठीक पछाडि डालीको केही भाग छुट्टै पाटेसन गरी फल्स बटम बनाएर गाँजा लुकाइएको थियो । बाहिरबाट हेर्दा ट्रकको डाली खालीजस्तै देखिने गरी गाँजा लुकाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीदत्त मोतेको कमान्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार ट्रक राँके, नेपालटार, इलाम बजार हुँदै गोलाखर्कबाट राजदुवाली भएर फिक्कलतर्फ जाँदै थियो ।

प्रहरीले चालकको खोजी गरिरहेको छ । गाँजा कहाँबाट ल्याइएको हो भन्ने खुलेको छैन । एसपी चन्दले उक्त रुटमा यति ठूलो परिमाणमा गाँजा बरामद भएको यो पहिलो घटना भएको बताए । पहाडी जिल्लाबाट तराई वा भारततर्फ गाँजा लैजान उक्त मार्ग प्रयोग गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×