
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि परिचालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ रहेको हो । त्यसमध्ये विभिन्न नौवटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात छ ।
यस्तै, दुई वाणिज्य बैंकका खातामा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पुर्याउन तथा खोज र उद्धारलाई तीव्रता दिन कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको छ ।
उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको खातामा पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



















