२९ खर्ब ७३ अर्ब नाघ्यो सार्वजनिक ऋण 

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १५:१८

काठमाडौं । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाघेको हो।

कार्यालयका अनुसार आन्तरिकतर्फ १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ र बाह्य ऋण दायित्वतर्फ १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बराबर छ। जिडिपीका आधारमा आन्तरिक ऋण दायित्वको प्रतिशत २० दशमलव ६३ र बाह्य ऋण दायित्व २४ दशमलव ४१ प्रतिशत हुन आउँछ।

Advertisement

सरकारले चालु आर्थिक वर्षका लागि छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा गत भदौ मसान्तसम्ममा ६१ अर्ब पाँच करोड रुपैयाँ ऋण प्राप्ति भइसकेको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति नौ दशमलव २८ प्रतिशत बराबर हो।

कार्यालयका अनुसार यस वर्ष सरकारले आन्तरिकतर्फ चार खर्ब १० अर्ब र बाह्यतर्फ दुई खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। जसमध्ये भदौ मसान्तसम्ममा आन्तरिकतर्फ ५० अर्ब र बाह्य ऋणतर्फ ११ अर्ब पाँच करोड रुपैयाँ उठाइएको छ। यस अवधिसम्ममा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि पनि ठूलो रकम खर्च भएको छ।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि सरकारी ऋणको साँवा र ब्याज तिर्न चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। जसमध्ये भदौ मसान्तसम्ममा ८५ अर्ब एक करोड छ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा २० दशमलव ३४ प्रतिशत बराबर हो। कुल गार्हस्थ्य उत्पादनको आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च एक दशमलव २९ प्रतिशत रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×