
काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज (बिहीबार) ११.७७ अंकले बढेर २६२९ अंकमा कायम भएको छ। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार ६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार भयो। आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यो समूहको सूचक १.८३ प्रतिशतले बढेको छ। नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टको सेयर मूल्य बढेपछि समग्र समूहगत सूचक उकालो लागेको हो।
निर्जीवन बीमा समूहबाहेक सबै समूहगत सूचक बढेका छन्। निर्जीवन बीमा समूहको सूचक ०.३३ प्रतिशत घट्दा बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार समूह ०.९७ प्रतिशत बढेका छन्।
आज नेपाल ल्युब आयलको सेयर मूल्य १२.४७ प्रतिशत, सोनापुर मिनरल्सको ७.६५ प्रतिशत, घोराही सिमेन्टको ७.०७ प्रतिशत, सीवाईसी लघुवित्तको ६.४७ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ४.६७ प्रतिशत, पाल्पा सिमेन्टको ३.६० प्रतिशत र त्रिशूली जलविद्युत्को ३.०४ प्रतिशत बढेको छ।
मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ११.५८ प्रतिशत र धौलागिरि लघुवित्तको १०.९८ प्रतिशत घटेको छ। हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य पनि ३.४३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर सिमेन्ट, नबिल बैंक प्रमोटर र लक्ष्मी सनराइज बैंक अगाडि रहे।



















