
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार घरसहित विभिन्न मालसामान जलेर उक्त रकम बराबरको क्षति भएको हो । आगलागीमा खाद्यान्न तथा किराना पसल, अलैंची गोदाम, भाँडावर्तनसहित घरायसी सामग्री, नगद तथा सुनका गरगहना जलेर नष्ट भएका छन् ।
पीडित परिवारले दिएको विवरण र आगलागीबाट ध्वस्त संरचनाको अवस्था निरीक्षण गरी प्रारम्भिक क्षतिको विवरण तयार गरिएको प्रहरी नायब उपरीक्षक बजगाईंले बताए । आगलागीबाट आठ परिवारका १० वटा घर जलेका थिए । स्थानीय याम लिम्बू, घनश्याम खरेल, राजु शेर्पा, सुकवीर लिम्बू, डण्डु शेर्पा, भीम लिम्बू, राजेन्द्र पौडेल र चन्द्र पौडेलका घरमा आगलागी भएको थियो ।
बजगाईंका अनुसार घनश्याम खरेलको करिब दुई करोड रुपैयाँ बराबरको अलैंची राखिएको गोदाम आगलागीबाट पूर्णरूपमा ध्वस्त भएको छ । जलेका घरमा अन्य १४ परिवारले कोठा तथा गोदाम भाडामा लिएर बसोबास गर्दै विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीहरूका सामानसमेत जलेर नष्ट भएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत तथा उद्धारमा प्राथमिकता दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए ।



















