विवादपछि भन्सार अधिकृत विभागमा तानिए

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १५:२८

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा हाजिर हुन भनिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग भट्टको विवाद भएको विषय सार्वजनिक भएपछि भन्सार विभागले उनलाई तत्कालका लागि कार्यालयको जिम्मेवारीबाट अलग गरेको हो । भन्सार विभागका अनुसार विवादसँग सम्बन्धित सार्वजनिक विवरणका बारेमा थप अध्ययन तथा बुझाइ आवश्यक रहेकाले भट्टलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको हो । घटनाका सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

Advertisement

गड्डाचौकी भन्सार कार्यालयबाट पास भएर आएको भारतीय नम्बरको एउटा गाडी सशस्त्र प्रहरीले रोकेको विषयलाई लिएर भट्ट र एसपी केसीबीच विवाद भएको थियो । सोही क्रममा भट्टले सशस्त्र प्रहरीका एसपी केसीलाई फोनमार्फत दबाब दिएको विवरण सार्वजनिक भएको थियो ।

सशस्त्र प्रहरीले रोकेको गाडी तत्काल नछोडे आफूले गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई फोन गर्ने भन्दै भट्टले चेतावनी दिएको भनिएको अडियोसमेत सार्वजनिक भएपछि विवाद थप चर्चामा आएको थियो । विवादका बारेमा सार्वजनिक भएका विवरणको अध्ययनपछि भन्सार विभागले भट्टलाई गड्डाचौकीबाट हटाएर विभागमै हाजिर हुन निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×