हेमाको हत्या, पति पक्राउ

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १३:११

झापा । झापाको मेचीनगर–१० धुलावारी माइत भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका पति विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको नक्सलवारीमा पतिसँगै भाडाको कोठामा बस्दै आएकी हेमा केही दिनअघि कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् । शव कुहिएको अवस्थामा भेटिएपछि घटनालाई शंकास्पद मान्दै माइती पक्षले हेमाको स्वाभाविक मृत्यु नभई हत्या भएको दाबी गर्दै भारतीय प्रहरीमा उजुरी दिएको थियो ।

Advertisement

उजुरीपछि अनुसन्धान थालेको भारतीय प्रहरीले घटनामा संलग्न भएको आशंकामा हेमाका पति विप्लव कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई शनिबार सिलिगुडी अदालतमा पेस गरिएको भारतीय प्रहरीले जनाएको छ ।

माइती पक्षका अनुसार करिब दुई वर्षअघि कामको सिलसिलामा विप्लव कुमार धुलावारी आएका थिए । त्यही क्रममा हेमासँग उनको चिनजान भएको थियो । चिनजानपछि विप्लवले हेमालाई फकाएर भारत लगेका थिए ।

केही समयअघि कामका लागि भन्दै विप्लव एक सातासम्म घरबाहिर गएको माइती पक्षले जनाएको छ । सोही समयमा हेमाको हत्या भएको हुनसक्ने उनीहरूको आशंका छ । विप्लव घरबाहिर रहेको भनिएको समय र हेमाको मृत्युबीचको घटनाक्रमका बारेमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भारतीय प्रहरीले हेमाको मृत्युको कारण, घटनाको समय तथा हत्यामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको छ । घटनासम्बन्धी थप तथ्य अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×