
काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् । शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयले परिवारको जिम्मा लगाएको हो ।
अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई परिवारको जिम्मा लगाइएको पुष्टि गरेका छन् । यसअघि कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई पक्राउ नभई सुरक्षाको कारणले कार्यालयमा ल्याइएको बताएका थिए ।
प्रहरीका अनुसार जबरालाई सम्भावित सुरक्षा जोखिमका कारण राति नै कार्यालयमा ल्याइएको थियो । तर, उनलाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा प्रहरीले स्पष्ट जानकारी दिएको छैन ।
जबरालाई नियन्त्रणमा लिएपछि उनको अवस्थाका बारेमा बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत टेकु पुगेको थियो । आयोगको टोलीले करिब ४५ मिनेट कार्यालयको गेटमा प्रतीक्षा गरे पनि जबरासँग भेट गर्न नदिइएको जनाएको छ ।
प्रहरीले जबरालाई ‘सुरक्षित स्थान’मा पठाइएको बताए पनि त्यसको स्पष्ट विवरण सार्वजनिक गरेको थिएन । पछि भने उनलाई परिवारकै जिम्मा लगाइएको जानकारी दिइएको हो ।
जबराका भाइ प्रभुशमशेरका अनुसार प्रहरीले घरमै पुगेर ‘जेनजी समूहबाट सुरक्षा थ्रेट रहेको’ भन्दै जबरालाई साथमा लिएर गएको थियो । तर, सुरक्षा जोखिम भए घरमै सुरक्षाकर्मी परिचालन गर्न सकिने भन्दै कानुनका जानकारहरूले प्रहरीले अपनाएको प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
वरिष्ठ अधिवक्ताहरूले कुनै व्यक्तिलाई नियन्त्रणमा लिँदा स्पष्ट कारण र कानुनी प्रक्रिया खुलाउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार सुरक्षा चुनौतीलाई आधार बनाइएको हो भने त्यसको प्रकृति र आवश्यक सुरक्षा व्यवस्थाका बारेमा राज्य स्पष्ट हुनुपर्छ ।
यसैबीच, जरुरी पक्राउ पुर्जीको विषयसमेत चर्चामा आएको छ । कानुनअनुसार तत्काल प्रमाण नष्ट हुन सक्ने, व्यक्ति भाग्न सक्ने वा तत्काल ठूलो अपराध हुन सक्ने अवस्था भएमा जरुरी पक्राउ पुर्जीको व्यवस्था प्रयोग गर्न सकिने कानुनविद्हरूको भनाइ छ ।
पूर्वप्रधान न्यायाधीश जबरालाई कुन कसुर वा अनुसन्धानका आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन । सरकारले समेत उनको नियन्त्रणको औपचारिक कारण स्पष्ट पारेको छैन ।
प्रधान न्यायाधीशका रूपमा रहँदा विभिन्न विवादमा परेका जबरा पछिल्लो समय न्यायिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेको दाबीसमेत सार्वजनिक भएका थिए । सरकारी स्रोतहरूले उनीमाथि न्यायिक कामकारबाहीमा चासो राखेको र विभिन्न व्यक्तिसँग भेटघाट बढाएको आरोप लगाएका छन् । यद्यपि, यस्ता दाबीमध्ये कतिपय सम्बन्धित व्यक्तिहरूले अस्वीकार गरेका छन् ।
जबराको नियन्त्रणपछि उनको पक्राउको कारणभन्दा पनि अपनाइएको प्रक्रियालाई लिएर बहस चर्किएको थियो । अहिले परिवारको जिम्मा लगाएर छाडिएसँगै उनलाई नियन्त्रणमा लिनुपर्ने आधार, सुरक्षा जोखिमको वास्तविक अवस्था र प्रहरीले अपनाएको कानुनी प्रक्रियाका बारेमा प्रश्न भने कायमै छन् । उनीमाथिको ‘सुरक्षा थ्रेट’को कारण अझै अस्पष्ट छ ।



















