
विराटनगर । केही दिनदेखि जारी अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न जिल्लामा व्यापक क्षति पुर्याएको छ । बाढीपहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन् । बाढीले घर, पुल, सडक तथा विद्युत् संरचना बगाएको छ भने पहिरोले बस्ती तथा घर पुरिँदा मानवीय क्षति भएको हो ।
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा लिलबहादुर घर्तीमगरको घर पहिरोमा पुरिएको छ । घरमा रहेका घर्ती परिवारका दुई जना र छिमेकीकी एक छोरी गरी तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पनि पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ दानामा घर पुरिएर दुई जना तथा वडा नम्बर ५ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको हो । अन्नपूर्ण–५ गिवाङमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् ।
धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मनाङको चामे तथा आसपासका क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पस्दा केही घर बगेका छन् । चामे जोड्ने प्रमुख पुलहरू बग्दा आवतजावत ठप्प भएको छ ।

स्थानीयका अनुसार चार–पाँच वटा घर बाढीले बगाएको छ । तालगाउँसमेत मर्स्याङ्दी नदीको बाढीले डुबानमा परेको छ । स्थानीयलाई स्वास्थ्य चौकी र विद्यालयमा सुरक्षित राखिएको छ भने विद्युत्, इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ ।
पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले ६६ घर पूर्ण रूपमा बगाएको र थप २३ घर उच्च जोखिममा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सोही क्षेत्रमा २० देखि २५ घर बगिसकेको र बाढीको जोखिम अझै बढिरहेको जनाइएको छ । बाढीले विद्यालय, कृषि फार्म तथा गोठसमेत प्रभावित भएका छन् ।
चितवनमा नारायणी नदीको बाढीका कारण भरतपुर महानगरपालिका–१६ झनझनेमा तीन घर डुबानमा परेका छन् । घरको छतमा बसेका १० जनालाई सशस्त्र प्रहरीले रबरबोटको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ । भरतपुर–१ को नदी किनारका बस्तीमा समेत नारायणीको बाढी पस्दा घर तथा विद्यालय डुबानमा परेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा तिनाउ नदीको बाढीले दुई पक्की र चार कच्ची गरी छ घर बगाएको छ । नवलपरासी पूर्वमा कालीगण्डकी नदीको बाढीले नवलपुर र तनहुँ जोड्ने मोटरेबल पुलको पहुँच मार्ग बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी नदीमाथिको पक्की बेलिब्रिजसमेत नदीको अत्यधिक बहावले बगाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ–तातोपानी जोड्ने पुल पनि कालीगण्डकीले बगाएको छ ।
बाढीपहिरोका कारण सडक सञ्जालमा समेत व्यापक क्षति पुगेको छ । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको करिब आधा भाग भासिएपछि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । हेटौँडालाई काठमाडौं जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । बेँसीसहर–चामे सडकसमेत पहिरो र सडक भासिएका कारण अवरुद्ध भएको छ ।
त्रिभुवन राजपथमा समेत सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । विभिन्न सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारी वैकल्पिक मार्गमा केन्द्रित भएका छन् ।

बाढीपहिरोको असर विद्युत् संरचनामा समेत परेको छ । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण विभिन्न स्थानमा प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सम्भावित क्षति न्यूनीकरण तथा अवरुद्ध सेवा तत्काल सञ्चालन गर्न जनशक्ति, उपकरण र सामग्री तयारी अवस्थामा राखिएको जनाएको छ ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । यसका कारण करिडोरमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ । कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्य मर्स्याङ्दीलगायत आयोजनाको उत्पादनसमेत प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
देशका विभिन्न स्थानमा मोबाइल तथा इन्टरनेट सेवा पनि प्रभावित भएका छन् । नेपाल टेलिकमले ठाउँ–ठाउँमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको र सेवा नियमित बनाउने प्रयास भइरहेको जनाएको छ ।
लगातारको वर्षाका कारण जमिन गलिसकेको, नदी तथा खोलामा जलसतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसममा क्रमशः सुधार आउने पूर्वानुमान रहे पनि बाढीपहिरोबाट प्रभावित क्षेत्रको जोखिम भने पूर्ण रूपमा हटिसकेको छैन । बाढीपहिरो जारी रहेका कारण जनधनको क्षतिको पूर्ण विवरण प्राप्त हुन समय लाग्ने प्रहरीले जनाएको छ ।


























