
विराटनगर । विराटनगरमा नेपाली नागरिकको नाममा दर्ता भएका पसलमा चिनियाँ नागरिकले व्यापार सञ्चालन गरिरहेको भेटिएपछि स्थानीय प्रशासनले व्यवसायको कानुनी हैसियतमाथि अनुसन्धान थालेको छ ।
विराटनगर महानगरपालिका–२ डीएसपी रोडमा रहेको ‘१६० सप’ मा सोमबार गरिएको अनुगमनका क्रममा नेपाली फर्मको आवरणमा चिनियाँ नागरिकले व्यापार गरिरहेको फेला परेको हो । पसल नेपाली नागरिकको नाममा दर्ता रहेको तर वास्तविक कारोबार चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा पसलको दर्ता कागजात काठमाडौं महानगरपालिका–३२, जडीबुटी निवासी राधिका बस्नेत कार्कीको नाममा रहेको भेटिएको थियो ।
‘१६० सप’ बाहिर प्रयोग गरिएको व्यापारिक नाम भए पनि कागजातमा भने ‘एभरपिक सप्लायर्स’का नाममा फर्म दर्ता रहेको देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दिपेशकुमार झाका अनुसार उक्त पसलको व्यापारिक गतिविधि भने चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गर्दै आएको पाइएको छ । पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद स्रोत, कारोबार र व्यवसाय सञ्चालनको कानुनी आधारका बारेमा यकिन गर्न टोलीले कागजात माग गरेको छ ।
अनुगमनका क्रममा पसल सञ्चालकलाई सामान खरिदका बिलसहित आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिइएको झाले बताए । उनका अनुसार फर्मको दर्ता प्रकृति, राजस्वमा देखाइएको कारोबार तथा वास्तविक व्यवसायबीचको अवस्था समेत अध्ययन भइरहेको छ ।
पसल सञ्चालनमा संलग्न चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगरमा नेपाली नागरिकका नाममा फर्म दर्ता गरी चिनियाँ नागरिकले व्यापार सञ्चालन गरेको भेटिएको यो दोस्रो घटना हो । यसअघि सेन्ट्रल मलमा सञ्चालनमा रहेको ‘योनो मार्ट’ पनि नेपाली नागरिकको नाममा दर्ता गरेर चिनियाँ नागरिकले सञ्चालन गरेको भेटिएको थियो ।
सेन्ट्रल मलमा पसल सञ्चालन गरिरहेका चिनियाँ नागरिक सीए जिङलान गत असोज ८ गते पक्राउ परेका थिए । सीएले ‘योनो मार्ट’ नामको पसल सञ्चालन गरिरहेको पाइएको थियो । अनुसन्धानबाट सीएले नेपालमा लगानी गर्ने उद्देश्यले उद्योग विभागबाट बिजनेस भिसाका लागि सिफारिस लिएका थिए । तर, भिसासँग सम्बन्धित काम नगरी पसल सञ्चालन गरिरहेको पाइएको थियो ।
अनुगमनका क्रममा उनको साथमा सक्कल राहदानीसमेत फेला परेको थिएन । उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको थियो ।
पछिल्लो समय सञ्चालनमा आएका यस्ता व्यवसायमा व्यक्तिगत फर्म दर्ता गरी समुद्रपार आयात–निर्यात तथा स्थानीय व्यापारलाई उद्देश्यका रूपमा उल्लेख गरिएको देखिए पनि वास्तविक लगानीकर्ता र सञ्चालक को हुन् भन्ने विषयमा प्रश्न उठेको छ । सम्बन्धित निकायले फर्म दर्ता, राजस्व विवरण, महानगरपालिकामा गरिएको व्यवसाय दर्ता तथा सामान आयात र खरिदसम्बन्धी कागजातको अध्ययन गरिरहेको जनाएका छन् ।
अनुगमनसँगै विराटनगरमा नेपालीको नाममा दर्ता भएका अन्य व्यवसायमा समेत विदेशी नागरिकको प्रत्यक्ष संलग्नता छ कि छैन भन्ने विषयमा प्रशासनको चासो बढेको छ । अनुगमनबाट प्राप्त कागजात र अनुसन्धानको निष्कर्षपछि व्यवसाय सञ्चालनको वास्तविक अवस्था तथा त्यसको कानुनी पक्ष थप स्पष्ट हुने अधिकारीहरूले बताएका छन् ।



















