
पाँचथर । पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घरको घुर्यानदेखि खेतबारीसम्म अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
सुकबहादुरका छिमेकी धनमाया बेघाले पनि आफ्नो बारीको अधिकांश भागमा अलैँची लगाएकी छन्। सोही वडाको बिरुवाका बालनन्द बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। बजारमा राम्रो मूल्य पाउन थालेपछि दुर्गम क्षेत्रका किसानले अलैँचीलाई मुख्य आम्दानीको स्रोत बनाउन थालेका छन्। धान, मकै र कोदो फल्ने खेतबारीमा समेत अलैँची लगाएका सुकबहादुरले यसबाट परिवार चलाउन सहज भएको बताए।
‘हामीलाई पाल्ने र बचाउने नै यही हो। हामीले नगद पाउने बाटो अलैँची मात्रै हो,’ उनले भने, ‘अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन्। यो खेती गर्नेले जे मागे पनि दिन्छन्।’ अलैँची उत्पादन गर्ने किसानले स्थानीय बजारमा वर्षभरि आवश्यक सामग्री उधारोमा समेत पाउने गरेको उनले बताए। अलैँचीबाट जीविकोपार्जन सहज भएपछि किसानले खेतीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
‘हाम्रो इज्जत राख्ने अलैँची भयो। रच्छ्यान, घुर्यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ,’ सुकबहादुरले भने।अलैँचीखेतीप्रतिको आकर्षणको अर्को कारण यसको मूल्य हो। गत वर्षदेखि अलैँची प्रतिमन (४० किलो) ८० हजार रुपैयाँभन्दा बढीमा बिक्री हुँदै आएको किसान बताउँछन्।
‘प्रतिमन ८० हजार रुपैयाँसम्म पाइयो भने त राम्रो हो। त्यसो हुँदा प्रतिकिलो दुई हजार रुपैयाँ बराबर पर्न जान्छ। त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन,’ सुकबहादुरले भने, ‘अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ।’ धनमायाले पनि खेतबारी मासेर अलैँचीखेती विस्तार गरेकी छन्। ‘अलैँचीको भाउ पनि राम्रै छ। हातमुख जोड्ने बाटो नै यही भएको छ,” उनले भनिन्।
तर, यस वर्षको अविरल वर्षाले उनको अलैँचीखेतीमा ठूलो क्षति पुर्याएको छ। गत जेठ ८ गते पहिरो गएर खोलाखोल्सीमा रहेको उनको मुख्य अलैँची बगान बगाएको थियो। ‘अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन,’ उनले भनिन्, ‘खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाँकी रह्यो। त्यसैबाट अलिकति आम्दानी गर्न सकिएला कि।’
सोही वडाका पूर्णबहादुर बेघाका अनुसार धान, मकै र कोदोखेती गर्दा लागतसमेत नउठ्ने भएकाले किसान अलैँचीतर्फ आकर्षित भएका हुन्। चाम्लिङडाँडाका रामकुमार राईको पनि २०८० असार र गत जेठमा गएको पहिरोले करिब ३० मन अलैँची फल्ने बारी बगाएको छ। अलैँची उत्पादन रोकिएपछि आम्दानीको अन्य स्रोत नभएको उनी बताउँछन्।
‘यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ। अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला,” राईले भने, “हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ।’ उनका अनुसार याङवरक–१ मात्रै नभई पाँचथरका ४० भन्दा बढी वडामा अलैँची उत्पादन हुँदै आएको छ।
कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ३ हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको थियो। सो अवधिमा १ हजार ३९६.९२ मेट्रिक टन अलैँची उत्पादन भएको केन्द्रका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए।



















