
झापा । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र पारेको छ। चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले सरकारी स्वामित्वका संस्थानसँग समन्वय गरी खाद्यान्नको सहज आपूर्तिको व्यवस्था मिलाएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका समयमा खाद्यान्नको अभाव र कालोबजारी हुन नदिन नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए। उनका अनुसार सरकारी संस्थानसँग समन्वय गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था मिलाइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडका कार्यालय प्रमुख राजबहादुर राईका अनुसार हाल सोना मन्सुली चामल २ हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल ३ हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ। माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उनले जानकारी दिए।
चाडपर्व लक्षित सहुलियत बिक्रीअन्तर्गत जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ। जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ र सोना मन्सुली चामल ५७ रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, चिनी प्रतिकिलो ११० रुपैयाँमा तथा नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिई २४ रुपैयाँमा बिक्री गर्ने व्यवस्था गरिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जिल्लाका २५ भन्दा बढी बिक्रेतामार्फत थोक मूल्यमा नुन तथा चिनी उपलब्ध गराई आपूर्ति र वितरण सहज बनाउने जनाएको छ। कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार हाल १३ दशमलव ३० मेट्रिकटन नुन मौज्दात छ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले चाडपर्वका अवसरमा उपभोक्तालाई राहत पुग्नेगरी व्यापारिक संघसंस्था तथा निजी क्षेत्रका व्यवसायीलाई स्वस्फूर्त रूपमा सहुलियत, छुट तथा राहतका प्याकेज घोषणा गरी कार्यान्वयन गर्न आग्रह गरेका छन्।बजार अनुगमनका क्रममा देखिएका कैफियत तत्काल सच्याउन लगाइने र उपभोक्ता हितविपरीतका गतिविधिमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए।



















