
विराटनगर । आरोहण गुरुकुल विराटनगरले भोटेकोशी बाढीपीडितका लागि १ लाख ४१ हजार ३ सय रुपैयाँ नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरेको छ।
रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले गुरुकुलले भदौ २१ देखि २४ गतेसम्म ‘सिफारिस’ नाटक मञ्चन गरेको थियो। विद्यालय, कलेज, संस्था तथा समूहका लागि भदौ २५ र २६ गतेसमेत नाटक मञ्चन गरिएको गुरुकुलले जनाएको छ।
नाटक मञ्चनबाट कुल १ लाख ४१ हजार ३ सय रुपैयाँ संकलन भएको थियो। उक्त रकम विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिएको आरोहण गुरुकुलले जनाएको छ।
गुरुकुलले नाटक हेरेर सहयोग गर्ने दर्शक, विद्यालय, कलेज, संस्था तथा समूहसँगै सञ्चारकर्मी, मिडिया, कन्टेन्ट क्रिएटर, सामाजिक अभियन्ता र समाजसेवीप्रति आभार व्यक्त गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोग जुटाउने अभियानमा प्रत्यक्ष तथा परोक्ष रूपमा साथ दिने सबैप्रति गुरुकुलले धन्यवाद व्यक्त गर्दै सहयोगका लागि आफूहरू सधैँ कृतज्ञ रहने जनाएको छ।



















