
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको अध्यक्षमा रामकुमार थापा निर्वाचित भएका छन् । झापाको दमकमा सम्पन्न प्रदेश अधिवेशनमा भएको निर्वाचनमा २७० मत प्राप्त गर्दै अध्यक्ष पदमा थापा विजयी भएका हुन् ।
अध्यक्ष पदका लागि थापासहित दुर्गा बस्नेत र विश्वमोहन थापा चुनावी प्रतिस्पर्धामा थिए । मतगणनामा बस्नेतले २३९ मत प्राप्त गर्दा विश्वमोहन थापाले ४० मत पाए ।
अधिवेशनका क्रममा निर्वाचन प्रक्रिया अघि बढाउने विषयलाई लिएर केही समय विवादसमेत भएको थियो । बन्दसत्रमा एक वक्ताले सम्बोधनका क्रममा गरेको टिप्पणीलाई लिएर प्रतिनिधिबीच भनाभन भएपछि केहीबेर वातावरण तनावपूर्ण बनेको थियो ।
विवादका कारण निर्वाचन प्रक्रिया प्रभावित हुने अवस्था आए पनि पछि स्थिति सामान्य पार्दै निर्वाचन सम्पन्न गरिएको थियो । निर्वाचनबाट थापा प्रदेश अध्यक्षमा निर्वाचित भएसँगै राप्रपा कोशी प्रदेशको नयाँ नेतृत्व चयन भएको हो ।



















