
विराटनगर । उद्योगका वास्तविक समस्या पहिचान गरी तिनको व्यावहारिक समाधान खोज्ने उद्देश्यले उद्योग संगठन मोरङले सञ्चालन गरेको चार दिने ‘डिजाइन थिंकिङ’ कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी विद्यार्थीले उत्पादन, कृषि, बैंकिङ तथा वित्तीय क्षेत्रका समस्या पहिचान गर्दै सम्भावित समाधानसहितका प्रोटोटाइप प्रस्तुत गरेका छन् ।
उद्योग संगठन मोरङअन्तर्गतको उद्यमशीलता तथा नवप्रवर्तन इकाईको आयोजनामा सञ्चालित कार्यशालामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका २० जना विद्यार्थी सहभागी थिए । उनीहरूले विभिन्न क्षेत्रका समस्या विश्लेषण गरी सिर्जनात्मक सोचका आधारमा समाधानका विकल्प तयार पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले प्रदेशलाई उद्यमशील बनाउने अभियानमा युवाको सीप, सृजनशीलता र नवप्रवर्तनलाई उद्योगसँग जोड्नुपर्ने बताए । कृषि, उद्योग तथा व्यवसायका क्षेत्रमा रहेका सम्भावनालाई प्रविधि र नवप्रवर्तनसँग जोड्न सके स्थानीय स्रोतसाधनको प्रभावकारी उपयोगसँगै उत्पादन र रोजगारी बढाउन सकिने उनले उल्लेख गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाको औद्योगिक विकासलाई थप गतिशील बनाउन युवाको ज्ञान, सीप र सिर्जनात्मक क्षमतालाई व्यवहारमा उतार्नुपर्ने बताए । चार दिने कार्यशालाबाट विद्यार्थीमा विकास भएको समस्या पहिचान र समाधान गर्ने क्षमताले भविष्यमा आवश्यक दक्ष जनशक्ति निर्माणमा योगदान पुर्याउने उनको विश्वास थियो ।
कार्यक्रमको समापनमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योगका जटिल समस्या परम्परागत सोच र अभ्यासबाट मात्रै समाधान गर्न कठिन हुने बताए । उद्योगको आवश्यकता र शैक्षिक क्षेत्रको ज्ञान तथा सृजनशीलतालाई एकै ठाउँमा जोड्न ‘डिजाइन थिंकिङ’ जस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।
अध्यक्ष राठीले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी भविष्यमा रोजगारी सिर्जना गर्न सक्ने उद्यमीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
उद्योग संगठन मोरङका कार्यसमिति सदस्य तथा उद्यमशीलता एवं नवप्रवर्तन इकाईका संयोजक प्रतीक राउतले उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यलाई व्यावहारिक तहमा विस्तार गर्नुपर्ने बताए । विद्यार्थीले तयार पारेका सिर्जनात्मक अवधारणालाई उद्योगसम्म पुर्याउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले प्रोटोटाइपलाई अन्तिम उपलब्धिका रूपमा नभई व्यावसायिक पहलको प्रारम्भिक आधारका रूपमा लिनुपर्ने बताए ।
कार्यशालाको समापनमा विद्यार्थीले प्रस्तुत गरेका प्रोटोटाइपले नयाँ पुस्ताले उद्योग तथा व्यवसायका समस्या कसरी विश्लेषण गर्छ र तिनको समाधानका लागि कस्ता सिर्जनात्मक उपाय पहिचान गर्न सक्छ भन्ने देखाएको उद्योग संगठन मोरङले जनाएको छ।


















