
काभ्रेपलाञ्चोक । लेदोसहितको पहिरो खसेर शुक्रबार रातिदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थलीमा खसेको पहिरो र लेदो हटाएपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो ।
पहिरोका कारण रोकिएको सवारी आवागमन अवरोध हटाइएसँगै सहज बनेको छ । सडक खुलेसँगै राजमार्ग भएर यात्रा गर्ने सवारीसाधन दुवैतर्फ चल्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भने राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र यात्रा गर्नुअघि स्थानीय प्रहरी, प्रहरीको आपत्कालीन नम्बर १०० वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।



















