
कञ्चनपुर । महाकाली नदीमा सञ्चार सेवा पुनः सञ्चालनका लागि तार तान्ने क्रममा सशस्त्र प्रहरीका एक सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत असई सागरराज थारु रहेका छन् । शनिबार दिउँसो नदीमा रबर बोटको सहायताले तार वारपार गराउने क्रममा उनी नदीमा खसेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार दिउँसो १२ः१५ बजेतिर दोधारा–चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ नेपाल टेलिकमको चुँडिएको तार तान्ने काम भइरहेको थियो । सोही क्रममा तार थारुको खुट्टामा अल्झिएपछि उनी रबर बोटबाट नदीमा खसेर बेपत्ता भएका थिए ।
केही दिनअघि महाकाली नदीमा आएको बाढीले झोलुंगे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो । त्यसपछि दोधारा–चाँदनी क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ ।
अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने प्रयासस्वरूप तार नदीपारि तान्ने काम भइरहेको बेला दुर्घटना भएको हो । बेपत्ता असई थारुको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।



















