
काठमाडौं । नेपालको बाढी प्रभावित क्षेत्रको पुनर्लाभ र पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा घोषित यो सहयोगसँगै नेपालका लागि अस्ट्रेलियाको बाढी विपद्सम्बन्धी कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ । फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएर मन्त्री खनाल स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा उनले अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङ, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्स र गभर्नर–जनरल साम मोस्टिनसँग भेटवार्ता गरेका थिए ।
अस्ट्रेलियाली विदेशमन्त्री वोङसँगको भेटमा नेपालको बाढी विपद्प्रति दुःख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गरिएको थियो । यसअघि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो ।
भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष जलवायु परिवर्तनबाट प्रभावित मुलुकका साझा मुद्दा उठाउनु थियो । फिजीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले हिमाली क्षेत्रमा हिमनदी पग्लिने र प्रशान्त महासागरका टापु राष्ट्रमा समुद्री सतह बढ्ने समस्या एउटै जलवायु संकटमा परस्पर जोडिएका असर भएको बताए । उनले भोटेकोशी जलाधार क्षेत्रमा आएको बाढीलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै जलवायु परिवर्तनमा न्यून योगदान भएका मुलुकले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरे ।
कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, अनुदानमा आधारित जलवायु वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र हिमालदेखि समुद्रसम्मको साझेदारीमा जोड दिए । अस्ट्रेलियासँगको वार्तामा नेपाली विद्यार्थीको भिसा प्रक्रिया सहज र निष्पक्ष बनाउन, छात्रवृत्ति बढाउन तथा विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली र जलवायु अनुकूलित पूर्वाधारमा प्राविधिक सहकार्य विस्तार गर्न पनि प्रस्ताव गरिएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।



















