
नेपालगञ्ज । नेपालगञ्जस्थित जमुनाह नाकामा भन्सार जाँचमा कडाइ गरिएपछि यस वर्ष दसैँको किनमेलका लागि सीमापारि भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ । विगतका वर्षमा चाडपर्वका बेला नेपाली ग्राहकले खचाखच भरिने रुपैडिहा बजार यसपटक तुलनात्मक रूपमा सुनसान देखिएको छ ।
दसैँ र तिहारका लागि नयाँ लुगा तथा घरायसी उपभोग्य सामग्री किन्न दैनिक ठूलो सङ्ख्यामा नेपाली रुपैडिहा पुग्ने गर्थे । यस वर्ष भने सीमा नाकामा जाँच कडा पारिएपछि त्यहाँ जाने उपभोक्ता घटेका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भन्सारसम्बन्धी नियम र सीमा नाकामा गरिएको कडाइका कारण रुपैडिहामा नेपाली ग्राहक घटेको बताए ।
गत वैशाखदेखि जमुनाह नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भन्सार नतिरी ल्याउन रोक लगाइएको थियो । पछि उक्त सीमा बढाएर ५०० रुपैयाँ पुर्याइएको छ । ५०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार जाँच गर्नुपर्ने व्यवस्थाले पनि उपभोक्ताको सीमापारि किनमेल प्रभावित भएको स्थानीयको भनाइ छ
नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाका अनुसार सीमा वारपार गर्दा दुवैतर्फ जाँच गराउनुपर्ने र लामो समय लाइनमा बस्नुपर्ने भएपछि रुपैडिहा जाने उपभोक्ता घटेका छन् । नेपाली ग्राहकको आवागमन कम हुँदा त्यहाँका पसलमा पनि चहलपहल घटेको उनले बताइन् ।
रुपैडिहा जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका सपिङ मल तथा सुपरस्टोरमा नेपाली ग्राहकको आकर्षण बढेको छ । भाटभटेनी र वेस्टर्न मार्टलगायतका स्टोरमा उपभोक्ताको चहलपहल बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए ।
भन्सार कडाइबाट सीमापारि जान रोकिएका उपभोक्तालाई नेपालगञ्जमै किनमेल गर्ने वातावरण बनाउन स्थानीय व्यापारी र उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने उनको सुझाव छ । चाडपर्वका बेला हुन सक्ने मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
तर, रुपैडिहा जाने ग्राहक घटे पनि नेपालगञ्जको स्थानीय बजारमा खरिदारी सोही अनुपातमा नबढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनका अनुसार सीमामा कडाइ गरिएपछि तस्करी घटेको अनुमान छ । यद्यपि, खुला सीमाका कारण भित्री नाकाबाट हुन सक्ने तस्करी रोक्न ती क्षेत्रमा निगरानी बढाउनुपर्ने उनले बताए ।

























