
सुनसरी । सुनसरीको देवानगन्जमा भारतबाट भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका चार लाख रुपैयाँभन्दा बढी मूल्यका लत्ताकपडा प्रहरीले बरामद गरेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–६ का ३० वर्षीय मोहम्मद सज्जाद छन् । उनी सवार भारतीय नम्बर प्लेटको बीआर ३८ एच–०४–८६२ नम्बरको मोटरसाइकलबाट प्रहरीले भन्सार छली ल्याइएका लत्ताकपडा बरामद गरेको हो ।
सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मंगलबार बिहान करिब ८ः३० बजेतिर देवानगन्ज गाउँपालिका–६ को भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा सामान फेला परेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा चार लाख १० हजार चार सय रुपैयाँ मूल्य बराबरका लत्ताकपडा भेटिएका थिए ।
बरामद गरिएका लत्ताकपडा र मोटरसाइकलसहित सज्जादलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























