
काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा बादल लाग्नेछ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
त्यस्तै, सोमबार बिहान र दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। सोमबार राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

























