
इलाम । स्थानीय फूल तथा पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा तीनदिने प्रथम गोदावरी प्रदर्शनी मेला सुरु भएको छ ।
कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बुधबार मेलाको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले स्थानीय उत्पादनको प्रयोग र बजारीकरणमा जोड दिन सके ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष रामभक्त श्रेष्ठ, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी दाहाल र उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौड्याललगायतले पुष्प व्यवसायको सम्भावना र स्थानीय उत्पादनको प्रवर्द्धनबारे धारणा राखेका थिए ।
कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा फूलका ३० वटा स्टल राखिएका छन् । ती स्टलमा चार सयभन्दा बढी प्रजातिका फूल प्रदर्शनी तथा बिक्रीका लागि राखिएको फ्लोरिकल्चर एसोसिएसन इलामले जनाएको छ ।
प्रदर्शनी अवधिमा करिब एक करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । स्थानीयस्तरमा उत्पादन भएका फूलको बजार विस्तार, पुष्प व्यवसायीलाई प्रोत्साहन र फूलप्रतिको आकर्षण बढाउन प्रदर्शनीले सहयोग पुग्ने विश्वास गरिएको छ ।

























