रास्वपालाई पुराना गल्ती नदोहोर्‍याउन बाबुरामको सुझाव

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार ०९:५९

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विगतका राजनीतिक दलले गरेका गल्ती नदोहोर्‍याउन सुझाव दिएका छन् ।

रास्वपाभित्र सरकार र पार्टीबीच देखिएको असमझदारीप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्था लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका हुन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीभित्र विगतमा भएका आन्तरिक संघर्ष र विभाजनको उदाहरण दिँदै त्यसले देश र जनतालाई नोक्सान पुर्‍याएको उल्लेख गरेका छन् ।

भट्टराईले २००७ सालपछि कांग्रेसमा बीपी र मातृका समूह, २०४७ पछि ७४ र ३६ सांसद समूह तथा २०५८ पछि गिरिजा र देउवा समूहबीचको विवाद स्मरण गराएका छन् । त्यस्तै, २०५२ पछि एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधी तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहका पक्षधरबीचको अन्तर्संघर्ष र विभाजनले देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ ।

‘इतिहासका गल्ती नदोहोर्‍याओस् । बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,’ उनले लेखेका छन् ।

‘मानिसले आफ्ना गल्ती दोहोर्‍याउने भएकाले इतिहास पनि दोहोरिन्छ’ भन्ने भनाइ उद्धृत गर्दै भट्टराईले युवा बाहुल्य रास्वपालाई विगतबाट पाठ सिकेर अघि बढ्न सचेत गराएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.