जनता जोगाउनु सरकारको पहिलो प्राथमिकता : लामिछाने

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १२:२९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रलाई जोगाउन तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारमा भएको क्षतिको अनुगमन तथा निरीक्षणपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताए ।

बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य संघले जानकारी गराएलगत्तै सम्बन्धित निकायलाई खबर गरेर आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको उनले बताए । उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिँदै लामिछानेले प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउनसक्ने बताए । त्यस्तो अवस्था आए सबै सरोकारवाला एकमत भएर निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

‘जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो’, उनले भने, ‘नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।’

आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता नराखेको स्पष्ट पार्दै लामिछानेले बाढीपहिरोबाट देशका विभिन्न क्षेत्रमा भएको क्षति र आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए । कर्णाली, सुदूरपश्चिम र मधेशलगायत क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको समस्या पनि उत्तिकै महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै उनले तत्काल गर्नुपर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिए । अध्ययनले पहिचान गरेका योजनाका लागि स्रोत सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे ।

छलफलमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्न लामिछानेले सुरुदेखि नै पहल गर्दै आएको बताए । उनले कटानको दीर्घकालीन समाधान हुने गरी आवश्यक योजना बनाउन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.