
काठमाडौं । काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रा रोक्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ । डेभिड वार्नरको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौंले शनिबार लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रनमा समेटियो ।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए । तर, अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । दोस्रो सिजनको उपाधि जित्दा लगातार ६ खेल जितेको लुम्बिनी यस सिजन पनि सुरुवाती चार खेलमा अपराजित थियो । काठमाडौंसँगको हारसँगै उसको एनपीएलमा १० खेलदेखिको अपराजित यात्रा टुङ्गिएको छ ।
हारका बाबजुद लुम्बिनी पाँच खेलबाट सात अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेल हारेपछि लगातार तीन जित निकालेको काठमाडौं चार खेलबाट छ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलबाट समान छ अङ्क जोडेको सुदूरपश्चिम रोयल्सलाई रनरेटमा पछि पार्दै काठमाडौं दोस्रो स्थानमा पुगेको हो ।
१६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले खराब सुरुवात गरेको थियो । उसले पावरप्लेभित्रै ६ विकेट गुमाएको थियो । ओपनर डार्सी सर्ट चार, आसिफ एक, निरोशन डिकवेला १४ र ग्रान्ड स्टेवार्ट छ रनमा आउट भए । कप्तान रोहित पौडेल र दिलीप नाथले खाता खोल्न सकेनन् ।
काठमाडौंका जहान्दाद खान र कप्तान करण केसीले लुम्बिनीको शीर्ष तथा मध्यक्रमलाई ध्वस्त पारे । खानले पहिलो स्पेलमै तीन ओभर बलिङ गर्दै चार विकेट लिए । त्यसपछि पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले एक छेउ सम्हाल्दै लुम्बिनीको इनिङ्स अघि बढाए । उनले सातौँ विकेटका लागि रुबेन ट्रम्पलम्यानसँग २१ रनको साझेदारी गरे । ट्रम्पलम्यान ११ रन बनाएर आउट भए ।
४७ रनमा सात विकेट गुमाएको लुम्बिनीका लागि जोराले अभिषेक गौतमसँग मिलेर आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरे । अभिषेकले १७ बलमा एक चौकासहित १६ रन बनाए । जोरा १८औँ ओभरको चौथो बलमा आउट भए । उनले ४५ बलमा तीन चौका प्रहार गर्दै ४४ रन बनाए । शेर मल्ल अन्तिम ओभरमा १२ रन बनाएर आउट भए भने तिलकराज भण्डारी एक रनमा अविजित रहे ।
काठमाडौंका जहान्दाद खानले चार ओभरमा २३ रन खर्चेर सर्वाधिक चार विकेट लिए । करण केसीले चार ओभरमा एक मेडन राख्दै २४ रन दिएर दुई विकेट लिए । शाहब आलम, सन्तोष यादव, राशिद खान र सहान अराचिगेले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो ।
काठमाडौंका लागि अस्ट्रेलियाली ब्याटर डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । उनले ५० बलमा नौ चौका र एक छक्का प्रहार गरे । विकेटकिपर साहिल पटेलले ३६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन जोडे । सहान अराचिगेले १५ बलमा तीन चौका र एक छक्कासहित अविजित ३४ रन बनाए ।
वार्नर र पटेलले पहिलो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै काठमाडौंलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ ओभरमा टोलीले बिना विकेटको क्षति १०० रन पूरा गरेको थियो । तर, १४औँ ओभरमा पटेल आउट भएपछि काठमाडौंको रन गति सुस्त भयो ।
१६औँ ओभरको पाँचौँ बलमा शेर मल्लले वार्नरलाई सन्दीप जोराको हातबाट क्याच गराएपछि काठमाडौंले दोस्रो विकेट गुमायो । त्यसपछि लुम्बिनीका बलर हाबी भए । अभिषेक गौतमले १७औँ ओभरका सुरुवाती दुई बलमा कप्तान करण केसी र विलियम बोसिस्टोलाई आउट गरे । करणले नौ रन बनाए भने बोसिस्टो खाता नखोली आउट भए ।
त्यसपछि राशिद खान एक, जहान्दाद खान छ, मोहम्मद आदिल आलम एक र सन्तोष यादव दुई रनमा आउट भए । लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिषेक गौतमले दुई–दुई विकेट लिए । अभिषेकले चार ओभरमा १५ र शेरले चार ओभरमा १९ रन खर्चिए । तीन ओभर बलिङ गरेका ट्रम्पलम्यानले २४ रन दिए ।

























