
काठमाडौं । नेपाली सेनाले कुकुर तिहारको अवसर पारेर मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा विशेष ‘डग शो’ आयोजना गरेको छ। आइतबार आयोजित कार्यक्रममा कुकुरहरूको पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरहरूको क्षमता र सीप प्रदर्शन गरिएको हो।
कार्यक्रममा सेनाका तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्र्याकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचानलगायतका सीप प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली सेनाको प्रबन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सीमित स्रोतसाधनका बीच कुकुरहरूलाई विशेष तालिम दिएर परिचालन गर्नु चुनौतीपूर्ण रहेको बताए। उनले कुकुरलाई सेनाको महत्वपूर्ण सहयोगी शक्तिका रूपमा व्याख्या गर्दै सुरक्षा, गस्ती, खोजी तथा शंकास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा उनीहरूको भूमिका प्रभावकारी रहेको उल्लेख गरे।
पाठकका अनुसार कुकुरहरूलाई ‘फोर्स मल्टिप्लायर’ का रूपमा प्रयोग गर्दा सुरक्षा कार्यमा जनशक्तिको प्रभावकारिता बढ्नुका साथै सैनिकहरूको मनोबल अभिवृद्धिमा समेत सहयोग पुग्छ। विशेषगरी ट्र्याकिङ, खोजी तथा सुरक्षा कार्यमा कुकुरको सुँघ्ने क्षमताले महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतीकका रूपमा सम्मान गर्दै प्रत्येक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै मानव र कुकुरबीचको मित्रता र सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेनाले जनाएको छ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, वडाध्यक्ष, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

























