कुकुर तिहारमा प्रहरी केनाइन कार्यालयमा विशेष पूजा

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १४:४०

काठमाडौं । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जमा विभिन्न जातका प्रहरी कुकुरको पूजा गरिएको छ । यमपञ्चकको दोस्रो दिन आयोजित कार्यक्रममा प्रहरी अधिकारीहरूले कार्यालयमा रहेका कुकुरलाई पूजा गरी सम्मान गरेका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कुकुरको पूजा गरे । उनले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न र खोज तथा उद्धार कार्यमा कुकुरको भूमिका महत्वपूर्ण रहेको बताए । गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा कुकुरले पुर्‍याएको योगदानको उनले प्रशंसा गरे ।

रानाका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका करिब २४ जनाको शव पत्ता लगाउन प्रहरी कुकुरको सहयोग महत्वपूर्ण बनेको थियो । केनाइन कार्यालयले स्थापनाकालदेखि नै अपराध अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको कार्यालयले अहिले देशका १४ स्थानबाट सेवा दिइरहेको जानकारी दिए । उनका अनुसार देशभरका केनाइन केन्द्रमा हाल १०७ वटा कुकुर छन् ।

कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा. चेतनारायण ज्ञवालीले पनि प्रहरीको कार्यसम्पादनमा कुकुरको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरिएको थियो । बाधापार, हाइजम्प र दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कुकुरलाई पनि पुरस्कार प्रदान गरियो । साथै, उत्कृष्ट कार्य गर्ने कार्यालयका प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

त्यस अवसरमा प्रहरी कर्मचारी र कुकुरले हातहतियार तथा विस्फोटक पदार्थ र लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी, खोज तथा उद्धार, आज्ञापालन, व्यक्तिगत सुरक्षा कला, बाधापार, हाइजम्प र दौडलगायतका सीप प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.