जुवातास खेलिरहेको अवस्थामा चार जिल्लाबाट २८ जना पक्राउ

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १६:१४

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौं, बाँके, भक्तपुर र चितवनबाट २८ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १० लाख ७ हजार ८४५ रुपैयाँ नगद र २१ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टबाट ९ जना पक्राउ परेका छन् । प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले शनिबार राति उनीहरूलाई ६ लाख ८५ हजार १९५ रुपैयाँ र ९ बुक ताससहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ पनि छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाइपासस्थित देवबहादुर चन्दको घरबाट ७ जना पक्राउ परेका छन् । ४७ वर्षीय चन्दसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शनिबार दिउँसो १ लाख ७७ हजार ६ सय रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित वाङगेल लामाको टहराबाट ६ जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–१ घर भएका ४२ वर्षीय लामासहित उनीहरूलाई अस्थायी प्रहरी पोस्ट गुण्डुबाट खटिएको टोलीले शनिबार राति ७२ हजार ७५० रुपैयाँ र एक बुक ताससहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै, चितवनको खैरहनी नगरपालिका–१० जीवनपुर चोकबाट पनि ६ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका–६ का ३१ वर्षीय अनिश पाठकसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले शनिबार साँझ ७२ हजार ३ सय रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

चारै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.