
काठमाडौं । तिहारको लक्ष्मीपूजाको रात काठमाडौंका विभिन्न संवेदनशील क्षेत्र र हवाई मार्गमा अनुमतिबिना जथाभावी ड्रोन उडाइएको भन्दै नेपाल मानव रहित विमान संघले आपत्ति जनाएको छ । संघले यस्तो गतिविधिले हवाई तथा राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम उत्पन्न गराएको बताएको छ ।
गृह मन्त्रालयले जारी गरेको ‘ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५’ र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षासम्बन्धी प्रचलित प्रावधान उल्लंघन गर्दै लक्ष्मीपूजाको रात ड्रोन उडाइएको संघको भनाइ छ । आवश्यक स्वीकृति र अनुमति नलिई एकैपटक विभिन्न स्थानमा ड्रोन सञ्चालन गरिएको भन्दै संघले यसलाई गम्भीर लापरवाही भनेको छ ।
संघका अनुसार नियमित हवाई मार्ग र विमान आवतजावत हुने क्षेत्रमा मात्र नभई नेपाली सेनाको मुख्यालयलगायत सुरक्षा संवेदनशील तथा प्रतिबन्धित क्षेत्रमा समेत ड्रोन उडाएर दृश्य सामग्री खिचिएको पाइएको छ । रातिको समयमा जथाभावी ड्रोन उडाउँदा हवाई उडानको सुरक्षा, नागरिकको व्यक्तिगत गोपनीयता र समग्र राष्ट्रिय सुरक्षामा चुनौती थपिएको संघले जनाएको छ ।
संघका महासचिव प्रबिन भट्टराईद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधि नियन्त्रण गर्न र सम्भावित दुर्घटना रोक्न सम्बन्धित निकायमा ध्यानाकर्षण पत्रसहित प्रमाणसमेत पेस गरिएको उल्लेख छ । आगामी दिनमा यस्ता गतिविधि निरुत्साहित गर्न, जनचेतना जगाउन र सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउन संघले सञ्चारमाध्यम तथा आम नागरिकलाई आग्रह गरेको छ ।

























