२३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार ०८:०६

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ । एक ट्रक अनियन्त्रित भएर अन्य सवारीसाधनमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।

मध्यरात हुनै लाग्दा फुजैराह प्रवेशद्वारमा दुर्घटना भएको हो । ट्राफिक जामका कारण सवारीसाधनहरू सुस्त गतिमा अघि बढिरहेका बेला तीव्र गतिमा रहेको ट्रकका चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको यूएईको गृह मन्त्रालयले जनाएको छ ।

ट्रकले अर्को सवारीसाधनलाई ठक्कर दिएपछि पछाडि रहेका गाडीहरू पनि एकपछि अर्को गर्दै ठोक्किएका थिए । दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक गरी २३ सवारीसाधन संलग्न भएका थिए ।

ठक्करपछि ट्रकमा आगो सल्किएको थियो । केही समयमै आगो आसपासका सवारीसाधनमा समेत फैलिँदा घटनाले भयावह रूप लिएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३० जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको फुजैराह प्रहरीले जनाएको छ । मृत्यु हुनेमा यूएईका नागरिकसमेत रहेको बताइएको छ । मृतकहरूको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ ।

घटनामा भारतीय नागरिकको समेत मृत्यु भएको यूएईस्थित भारतीय वाणिज्य दूतावासले पुष्टि गरेको छ । दूतावासले मृतकका परिवारसँग सम्पर्क गरिरहेको र आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.