पुरुष चिकित्सकबाट महिलालाई उपचारमा रोक

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार ०९:०७

एजेन्सी । अफगानिस्तानमा तालिबानले महिलामाथि लगाएका प्रतिबन्ध थप कडा बनाउँदै पुरुष चिकित्सक र दन्त चिकित्सकलाई महिला बिरामीको उपचार गर्न अनौपचारिक रूपमा रोक लगाएको छ । आकस्मिक अवस्थामा समेत महिलासँग पुरुष अभिभावक (महरम) अनिवार्य हुनुपर्ने नियम लागू गरिएको छ। यसले महिलाका लागि आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नसमेत कठिन बनाएको छ ।

द गार्जियन र जान टाइम्सको संयुक्त प्रतिवेदनअनुसार पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने अघोषित प्रतिबन्धका कारण धेरै महिला उपचारबाट वञ्चित भएका छन् । तालिबानले औपचारिक घोषणा नगरे पनि अस्पताल र निजी क्लिनिकमा यस्तो नियम कार्यान्वयन भइरहेको छ ।

यसको प्रत्यक्ष मारमा हेरात सहरकी ३७ वर्षीया फरीदा (परिवर्तित नाम) परेकी छन्। यसै वर्ष इरानबाट फर्किएकी उनी आर्थिक समस्यासँग जुधिरहेको परिवारमा छिन्। दाँतमा असह्य पीडा भएपछि उनी जुलाईको सुरुवातमा एक दन्त क्लिनिक पुगेकी थिइन्। चिकित्सकले नक्कली दाँत प्रत्यारोपण गर्न सुझाव दिएपछि उनले उपचारको सम्पूर्ण रकम अग्रिम भुक्तानी गरिन्।

तर तेस्रो चरणको उपचारमा प्रत्यारोपण गर्ने समयमा उनलाई उपचार गर्न नसकिने भन्दै घर फर्काइयो। दुई दिनपछि क्लिनिकले पुरुष दन्त चिकित्सकले अब महिलाको उपचार गर्न नपाउने जानकारी दियो। त्यसयता तीन महिना बितिसक्दा पनि उनको उपचार पूरा हुन सकेको छैन।

महिलामाथिका प्रतिबन्ध स्वास्थ्य सेवामा मात्र सीमित छैनन्। उत्तरी बल्ख प्रान्तका अधिकारीहरूले गत मे महिनामा सरकारी तथा निजी अस्पताललाई महिला बिरामीलाई उनीहरूको वास्तविक नामबाट नबोलाउन निर्देशन दिएका थिए। चिकित्सकले दिने औषधिको पुर्जामा समेत महिलाको नामको सट्टा ‘श्रीमती’ लेख्न भनिएको छ।

कुनार प्रान्तकी रहीमा (परिवर्तित नाम) ले पनि आफ्नी वृद्ध आफन्तलाई उपचार गराउन निकै कठिनाइ भएको बताएकी छन्।

तालिबानका सुरक्षा बलले स्वास्थ्य क्लिनिकमा छापा मार्न थालेका छन्। क्लिनिकमा महिला बिरामी भेटिए पुरुष चिकित्सकलाई जेल हाल्ने चेतावनी दिइएको छ। एक शल्यचिकित्सकका अनुसार पुरुष अभिभावक अर्थात् महरमबिना महिला बिरामीको उपचार नगर्न आफूहरूलाई निर्देशन दिइएको छ।

गत फेब्रुअरीमा तालिबानका सञ्चारमन्त्री हमदुल्लाह नोमानीले उपचारका क्रममा पुरुष चिकित्सकलाई नै महिलाको महरम मानिने दाबी गरेका थिए। तर व्यवहारमा भने त्यसको ठीक विपरीत नियम लागू भइरहेको छ।

पूर्वी सहर जलालाबादस्थित एक दन्त क्लिनिकमा सहायकका रूपमा काम गर्ने नरगिस (परिवर्तित नाम) का अनुसार केही चिकित्सकले महिला बिरामीको उपचार गर्दा क्लिनिकबाहिर एक व्यक्तिलाई निगरानीका लागि राख्ने गरेका छन्। उनका चिकित्सकले त तालिबान अधिकारी छापा मार्न आए बुर्का लगाएर उम्किन सकियोस् भन्दै कार्यालयमा एउटा अफगानी बुर्का (चादरी) राख्नुपर्ने ठट्टासमेत गर्ने गरेका छन्।

महिला स्वास्थ्यकर्मीको अभावले पनि अफगान महिलाको स्वास्थ्य सेवामा पहुँच थप कमजोर बनेको छ। सन् २०२४ डिसेम्बरदेखि महिलालाई चिकित्सा शिक्षासम्बन्धी संस्थामा अध्ययन गर्न र अस्पतालमा महिला कर्मचारीका रूपमा भर्ना हुन रोक लगाइएपछि महिला चिकित्सकको संख्या घटेको छ।

हाल कार्यरत सीमित महिला चिकित्सकले समेत पुरुष अभिभावक साथमा राख्नुपर्ने बाध्यता छ। एक महिला बिरामीले आफ्ना बुबासँगै क्लिनिक पुग्दासमेत पुरुष चिकित्सकले महिला बिरामीलाई छुन नपाउने नियमका कारण घण्टौँ कुर्नुपरेको बताएकी छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.