
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पछिल्लो १० वर्षको तुलनामा वर्तमान सरकारले मधेश प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरेको बताएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा उनले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडक निर्माणका लागि मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए ।
मन्त्री लम्सालले मधेश प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि बजेट बढाउँदै लैजाने प्रतिबद्धता जनाए । खानेपानी र अन्य पूर्वाधारका क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन गरिएको उनले बताए ।
मधेश प्रदेशमा श्रमिकको सङ्ख्या बढी रहेकाले उनीहरूलाई न्यायोचित पारिश्रमिक उपलब्ध गराउने उद्देश्यले दैनिक ज्यालादरसमेत वृद्धि गरिएको मन्त्री लम्सालले जानकारी दिए । सरकारले मधेशको समग्र विकास, सडक सञ्जाल विस्तार र आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको उनको भनाइ छ ।

























