
कार्यालयले मंसिर २ गते नगरपालिकालाई पठाएको पत्रमा कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सम्बन्धित स्थानीय तहले एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासन सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ। उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयले कात्तिक १६ गते नै पत्राचार गरेको थियो।
सेवा सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने प्राविधिक तथा प्रक्रियागत समस्या समाधानका लागि कार्यालयले सहायक कम्प्युटर अपरेटर सुन्दर आचार्यलाई सम्पर्क व्यक्ति तोकेको छ। उनले नगरपालिकासँग समन्वय गरी आवश्यक सहजीकरण गर्ने जिम्मेवारी पाएका छन्।
नगरपालिकामा सेवा सञ्चालनका लागि आवश्यक इन्ट्रानेट सुविधा तथा कर्मचारीलाई तालिम उपलब्ध गराउन सकिने कार्यालयले जनाएको छ। साथै, नगरपालिकाले कोठाको व्यवस्था गरेमा सेवा सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउन सकिने पत्रमा उल्लेख छ।

























